सुदूरपश्चिम प्रदेशसभा बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीका साथ आज बिहान ८ बजेका लागि डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्तिम समयमा स्थगित भई आगामी २४ गते शनिबार बिहान ८ बजे बस्ने गरी तय भएको छ। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भए पनि प्रदेश सरकारको विशेष अनुरोधमा बैठक स्थगित गरी नयाँ समय निर्धारण गरिएको हो।

हाल सुदूरपश्चिम प्रदेश बजेट शून्यताको जटिल अवस्थाबाट गुर्जिरहेको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सरकारले चालु आर्थिक वर्षका लागि पेस गरेको बजेट स्वीकृत नहुँदै सरकार फेरबदल भएपछि यो अवस्था सिर्जना भएको हो। गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेकपा (एमाले) समेतको नयाँ सरकार गठन भएपछि बजेट सम्बन्धी अन्योलता अझै कायम रहेको छ।