तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुग्यो

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार तीनवटै प्याकेजअन्तर्गतका निर्माण कार्यहरू तीव्र रूपमा अघि बढिरहेका छन्। प्याकेज १ अन्तर्गत सोङ्दा कालिका जेभीले बाँध र हेडवक्र्सको ६३ प्रतिशत काम सम्पन्न गरिसकेको छ, जसअन्तर्गत १४० मिटर अग्लो बाँधको कङ्क्रिटिङ कार्य निरन्तर भइरहेको छ।

त्यस्तै, प्याकेज २ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन (चीन) ले विद्युत् गृह, सुरुङ र सम्बन्धित उपकरणतर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको छ, जहाँ १,४१८.७५ मिटर लामो मुख्य सुरुङको कङ्क्रिट लाइनिङ अन्तिम चरणमा पुगेको छ। प्याकेज ३ अन्तर्गत केइसी इन्टरनेसनल (भारत) ले निर्माण गरिरहेको ३३ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम ८२ प्रतिशत सम्पन्न भइसकेको छ, जसमा ९४ मध्ये ८३ टावरको जग ढलान र ८० वटा टावर खडा गरिसकिएको छ।