त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर

काठमाडौँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली-३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रवार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ ।

उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहेका शाहको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ ।

साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उनका आफन्त देवकुमार साहले बताए । उनका अनुसार अहिले सञ्जयको परिवारका सदस्यहरू उनलाई भेट्न काठमाडौँ आइरहेका छन् ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रवार बिहान मात्र उनको उद्धार गरेको थियो ।

उनले भने, ‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यति धेरै दिन भइसकेको थियो बिस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसीको सीमा छैन । अहिले उहाँको परिवार आइरहनुभएको छ, कति बेला पुग्नुहुन्छ ? सायद २, ३ बजे पुग्नुहुन्छ कि ।’

सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार जारी राखेको छ ।