काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार सञ्चालनका क्रममा आफूहरू एक्लो नछाड्ने सन्देश दिएका छन्। उनले परिवर्तनका लागि जनताबाट प्राप्त जनादेश पूरा गर्ने जिम्मेवारी सबैको साझा भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि झाको यस्तो प्रतिक्रिया आएको हो। प्रधानमन्त्रीले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेका थिए। उनले बाहिरबाट देखिएको वा सुनिएकोभन्दा परिस्थिति फरक हुन सक्ने संकेत गर्दै आफूले यसअघि पनि कठिन परिस्थितिको सामना गरेको उल्लेख गरेका थिए।
झाले भने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई निराशाको रूपमा नलिन आग्रह गर्दै सरकार परिवर्तनको महत्वपूर्ण चरणमा रहेको बताएका छन्। उनका अनुसार जनताले दिएको ऐतिहासिक म्यान्डेट पूरा गर्ने क्रममा सरकारलाई आवश्यक साथ, सहयोग र खबरदारी दुवै उपलब्ध गराउनु आफूहरूको जिम्मेवारी हो।
सरकारको नियत र उद्देश्य प्रति आफूलाई शंका नरहेको उल्लेख गर्दै झाले सुधार आवश्यक रहेका विषयमा भने गम्भीरता पूर्वक ध्यान दिनुपर्ने बताएका छन्। उनले सरकारका कामकारबाहीप्रति समर्थन जनाउँदै कमजोरी देखिएका ठाउँमा सचेत गराउने काम पनि जारी रहने स्पष्ट पारे।
झाले वर्तमान सरकारलाई प्राप्त जनादेश सामान्य राजनीतिक अवसर मात्र नभएको उल्लेख गर्दै यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई आवश्यक सुझाव दिने, निगरानी गर्ने र सुधारका लागि दबाब दिने आफ्नो भूमिका निरन्तर रहने उनको भनाइ छ।
जन निर्वाचित सरकार जनतासँग जोडिएर अघि बढ्नुपर्ने बताउँदै झाले आफू सरकारको साथमा रहेको स्पष्ट पारे। उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै सरकारभित्र वा बाहिरबाट आउने चुनौतीका बीच ‘कोही पनि एक्लो छैन, हामी सबै साथमा छौँ’ भन्ने सन्देश दिएका छन्।





























