काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै संगठनलाई एक ढिक्का बनाउन आफूहरू सक्रिय रहेको बताएका छन्। उनीहरूले साउन २८ गतेसम्म पार्टीलाई निकास दिन नेतृत्वलाई दबाब दिँदै त्यसो नभए २९ गतेदेखि नयाँ कार्य दिशाका साथ अघि बढ्ने चेतावनी दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित युवा भेलामा संस्थापन इतर समूहका नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको एकता, आन्तरिक सुदृढीकरण र संगठन निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेस नेता शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गालीगलौज गर्नुभन्दा मौन रहनु वा उपेक्षा गर्नु नै प्रभावकारी जवाफ हुने बताए। पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उनले कांग्रेसको संघर्षपूर्ण इतिहासलाई जोगाउँदै पार्टीलाई अझ बलियो बनाउनुपर्ने धारणा राखे।
त्यस्तै प्रकाश मान सिंहले पार्टी भित्रको विवाद समाधानका लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा ल्याउनुपर्ने बताए। तीनदिने राष्ट्रिय भेला कुनै व्यक्तिको पद वा स्वार्थका लागि नभई कांग्रेसको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनको भनाइ थियो।
कांग्रेस नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतको फैसलाले पार्टी एकताको बाटो खुला गरेको दाबी गर्दै अब संयम, धैर्य र उत्साहका साथ देशभर पुगेर आफ्ना धारणा राख्नुपर्ने बताए। कांग्रेसका नेता तथा कार्यकर्ता व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवाका लागि संगठित भएको उल्लेख गर्दै उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको आरोपसमेत लगाए।
अर्का नेता मोहन बस्नेतले कांग्रेसलाई विभाजन गर्ने नभई अझ बलियो, जाँगरिलो, ठूलो र सशक्त पार्टी बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको बताए। मुलुकको भविष्य हाँक्न सक्ने हैसियतको कांग्रेस निर्माण गर्न आफूहरू अघि बढेको उनको भनाइ थियो।
बस्नेतले साउन २८ गतेसम्म गगन थापाले निकास नदिए साउन २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्दै नयाँ सुरुवात गर्न सक्ने चेतावनी दिए।
संस्थापनइतर समूहले पार्टीभित्रको विवादलाई लामो समयसम्म तन्काउनुभन्दा संवाद र सहमतिका माध्यमबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ। पछिल्लो भेलामा पनि नेताहरूले कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।




























