काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए ।
जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण-पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।
यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यसअघि स्थानीय प्रशासनले माइतीघर-बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।






























