Hotel Panchthar Nepco Media

नक्कली भुटानी शरणार्थी प्रकरण : आज सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा आजबाट उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त निवेदन दिएका थिए।

यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।