काठमाडौं । राष्ट्रपतिबाट कैद माफी पाएर जेलबाट छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका-९ का ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले मंगलबार भरतपुरबाट पक्राउ गरेको हो।
थापामाथि भरतपुर-१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ।
भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ।
पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।