बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका-८ विजयपुरनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।
उक्त ढुंगा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।
यस्तै, दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोलानजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताए ।
राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्री अलपत्र परेका छन् ।