संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधवार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरूका परिवारजनले शव बुझ्न मानेका छैनन् ।
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।
कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधवार बिहान मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।
प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ ।
जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवै जना एक वर्षदेखि यहाँको कारागारमा थिए ।
छानबिन समिति गठन
जिल्ला कारागारमा बुधवार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ ।