Hotel Panchthar Nepco Media

बाघको संरक्षण गर्न सडक नाटक 

काठमाडौं । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रो जानकारी छ। उनी बाघको बानीव्यवहार, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन्।

बाघको बारेमा आफूलाई थाहा भएका कुराहरू सडक नाटकमार्फत मानिसहरूलाई पनि बुझाउँदै आएकी छन्। सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघको बारेमा अझै धेरै ज्ञान पाएकी छन्।

स्नातक तह अध्ययन गरिरहेकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको थियो।

बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोक-चौतारामा पुग्छिन् । यो अभियानमा स्याङ्ताङ एक्ली होइनन् । सडक नाटकमा उनीसँगै गाउँका १४ किशोरकिशोरी सहभागी हुन्छन्। उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन्।

ठोरीमा बाघले वर्षेनी दुःख दिन्छ। बाघकै कारण वर्षेनी जनधनको क्षति हुन्छ।तरपनि त्यहाँका स्थानीय बाघको संरक्षणमा जुटेका छन्।

‘हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ,’ स्याङ्ताङ्ले भनिन्। उनले गाउँका चोक-चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताइन्। ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर-किशोरी सडक नाटक देखाउने अभियानमा छन्।

ठोरी गाउँपालिका-१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउँछन्। उहाँ पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरुलाई बुझाउन सक्ने भएको बताउँछन्। सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उनले सुनाए।

बाघ संरक्षणको अभियानमा सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर-किशोरीसँगै जुटेका छन्। उनी भन्छन्, किशोर-किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुन्छ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताए। ‘यहाँ वन्यजन्तुपीडित धेरै हुनुहुन्छ,’ उनले भने, ‘बाघले गाउँघरमा पसेर गाईवस्तु, बाख्रा, बङ्गुर खाने गरेको छ।’ उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको बताए।

चितवन राष्ट्रिय निकुञ्जले २२ समितिमार्फत बाघ संरक्षणको अभियान चलाइरहेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको जानकारी दिए।

‘गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम कोरोनाका कारण रोकिएको थियो,’ उनले भने, ‘अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौँ।’ उनले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने बताउँदै सडक नाटकले यसमा प्रभावकारी भूमिका खेलेको जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताए।

बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ।

बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम ९ताल०ले सहकार्य गरेको छ ।

कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताए । ुमानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छु, उनले भने, ुनजिक भएकै कारण घटना धेरै हुने गरेको छ।ु

चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

यो तीन निकुञ्ज जोडिएको क्षेत्र पनि हो। पौडलेले बोलेर, पढेरभन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षण अभियान प्रभावकारी हुने बताए।

‘सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौँ,’ उनले भने।रासस