काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ।महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।
विपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विपी साहित्य महोत्सव’ हुन लागेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ विपी जन्मजयन्तीका अवसरमा विपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो।
कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।