काठमाडौं । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए। उनले प्रधानमन्त्री संसद्मा आएर ब्रिफिङ गर्ने तर सांसदहरूसँग संवाद नगरी फर्किने कार्यशैली उचित नभएको टिप्पणी गरे।
‘संसद्लाई विश्वासमा लिनु भनेको प्रतिपक्षीलाई मात्रै होइन। आफ्नै सांसदलाई पनि विश्वासमा लिनुपर्छ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री हामी सबैको हो। सबैको विश्वास जित्ने प्रयास हुनुपर्छ।
प्रचण्डले प्रधानमन्त्री शाहले ठूलो अवसर पाएको भन्दै संकटको समयमा त्यसलाई गुमाउन नहुने बताए। उनका अनुसार अहिले देशले लामो भाषण वा सामाजिक सञ्जालका पोस्टभन्दा प्रभावकारी नेतृत्व र राज्यको उपस्थित खोजिरहेको छ।
उनले देश संकटमा रहेकाले राष्ट्रिय एकता आवश्यक रहेको र त्यसको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए। ‘संकटमा राज्य देखिनुपर्छ, विपत्तिमा राष्ट्र एकजुट देखिनुपर्छ उनले भने।
प्रचण्डले प्रधानमन्त्रीले गम्भीरतापूर्वक सबैको विश्वास जित्न नसके समयले उनलाई नपर्खिन सक्ने चेतावनीसमेत दिए।































