काठमाडौं । जापानी उनलाई रङ्गीचङ्गी थोप्लाहरू अर्थात् पोल्का डटको महारानी भनेर चिनिन्छ । आजीवन उनले यसै विचारमाथि काम गरिरहिन् । यसबाट उनले नाम, दाम धेरै कमाइन् । उनी हुन् जापानी कलाकार यायोई कुसामा । केही दिनअघि मात्रै ९७ वर्षको उमेरमा उनले यस धर्ती छाडिन् ।
दशकौंदेखि आफ्नै इच्छाले मानसिक अस्पतालमा बस्दै आएकी कुसामा आफ्नो रातो कपाल र ठूलाठूला रोचक कलाकृतिहरूका लागि चिनिन्थिन् ।
उनका कला प्रदर्शनीहरूमा विश्वभर ठूलो भीड लाग्ने गर्थ्यो । महिला कलाकारहरूमध्ये सबैभन्दा महँगो मूल्यमा उनका चित्रहरू बिक्री हुन्थे । उनले जीवनको अन्तिम दिनसम्म पनि चित्र बनाउन छाडिनन् । तर, उनको जीवन हेर्दा जोकोही पनि छक्क पर्न सक्छ । किनकि, उनको काम लामो समयसम्म विश्वले देखेन । भनौं, कला जगतमा उनका सुरुवाती दिनमा कसैले पनि खासै वास्ता गरेन । कुसामा ८० र ९० वर्षको उमेरमा पुगेपछि मात्रै विश्वभर चर्चित बन्न पुगिन्।































