काठमाडौं । सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई जना यात्रुको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ ९बिओपी० त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।































