सुनसरी : सुनसरीमा बन्दागोभीले छोपेर अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट २ हजार ५६६ किलोग्राम (२.५ टनभन्दा बढी) गाँजा बरामद गरेको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्ने क्रममा ६३ वटा बोरामा लुकाएर ल्याइएको गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ। तरकारी बोकेको गाडीको आडमा गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो।
अवैध गाँजासहित प्रहरीले ट्रक चालक र सहचालकलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई (चालक) र सोही ठाउँका १८ वर्षीय सन्दीप राई (सहचालक) रहेका छन्।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।































