काठमाडौँ अलोकनारायण (आलोक नगर) स्थायी घर भई हाल आयरल्याण्डमा बसोबास गर्दै आएका जोन पोख्रेलको विशेष अग्रसरतामा डब्लिनस्थित ‘टीचर्स क्लब’ (Teachers Club) मा गत सेप्टेम्बर १५ गते उक्त परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न भएको हो।
केवल मनोरञ्जनका लागि मात्र नभई विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मानवीय सहयोग जुटाउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, कलाकार, संगीतकर्मी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। निःशुल्क प्रवेश राखिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले मातृभूमिको दुःखमा मल्हम लगाउने साझा अठोट व्यक्त गरे।
कार्यक्रमका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो। साथै बाढीमा परी घाइते भएका तथा प्रभावित बनेका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको थियो।
सांगीतिक साँझबाट संकलन भएको रु ४,२१,१११ (चार लाख २१ हजार एक सय एघार) रकम अलोकनारायण टोल सुधार समितिका अध्यक्षसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिसकेको छ।
कार्यक्रमलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गराउन अमूल्य समय, श्रम र सहयोग पुर्याउने गंगाराम कँडेल, सन्तोष शर्मा तथा कार्यक्रम सञ्चालिका नीतिश्मा गौतम लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजक समूहले विशेष धन्यवाद तथा आभार प्रकट गरेको छ।































