‘नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यक’ : सांसद बराल

काठमाडौँ । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले प्रश्न उठाएका हुन् ।

उनले विधेयकले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने बताए । सांसद बरालले ३५ वर्षको इतिहास बोकेको नागरिक लगानी कोषले अबका दिनमा आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्नेमा जोड दिए। कोषमा रहेको ठूलो पुँजी बैंकहरूमा स्थिर निक्षेपका रूपमा मात्र रहनुले कोषको प्रभावकारितामाथि प्रश्न उठेको उनको भनाइ छ ।

बरालले भने, ‘हाल कोषको झन्डै ४९ प्रतिशत रकम बैंकमा स्थिर निक्षेपका रूपमा छ, जुन चिन्ताको विषय हो। उत्पादनशील क्षेत्रमा लगानी खोज्नु आजको प्रमुख आवश्यकता हो ।’

छलफलका क्रममा कोषको आन्तरिक सुशासन र निर्णय प्रक्रियाको गतिमाथि समेत प्रश्न उठाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै सांसद बरालले कोषको कार्यशैलीमा देखिएका अस्पष्टता र ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए। कोषको जनशक्तिलाई प्रविधिमैत्री बनाउनुपर्ने र जोखिम न्यूनीकरणका आधुनिक औजारहरूको उचित प्रयोग आवश्यक रहेको उनको सुझाव छ ।

 सांसद बरालले तीन अर्बभन्दा बढी पुँजी परिचालनको क्षमता राख्ने यो संस्थाको वित्तीय हितलाई केन्द्रमा राखेर ऐन संशोधन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । उनले सापटी लगानीको उच्च दर र पूर्वाधारको अभावमा कोषको प्रगति खुम्चिएको भन्दै यसलाई सुधार गरी अघि बढ्न विधायीकी भुमिका सशक्त हुनुपर्ने बताए।