बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु. ७४ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
जेनजेड प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।
भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पुर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी रु. ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व संकलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए ।
उनका अनुसार गत आवमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट संकलन गरेको छ । पुँजीगत लाभकर दस्तुरबाट मात्रै रु. ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट रु. ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व संकलन भएको छ ।
उक्त कार्यालयले सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत रु. ५४ लाख २३ हजार ९१४ संकलन गरेको कार्यालय प्रमुख विकले जानकारी दिए । त्यस्तै फारम र पुर्जा बिक्रीबापत रु. १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड, जरिवानाबाट १५ हजार ९०० र धरौटी सदर र स्याहार राजस्व शीर्षकबाट रु. १२ हजार ९२३ संकलन भएको छ ।
कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व संकलनको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख विकको भनाइ छ ।
भूमि प्रशासन कार्यालयले जेनजेड प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता कायम गरेको छ ।कार्यालय प्रमुख विकले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुने गरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी गरे ।






























