काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा विभाजनको अवस्था देखिएको छ । पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
पार्टीबाट अलग हुने नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो राजनीतिक शैली र पुरानै व्यक्तिबाट मुलुकको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित पार्टी छाडेको बताएका छन् ।
पार्टी परित्याग गर्नेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् ।
महासचिव पदबाट अलग भएका झाले मुलुकको आवश्यकताअनुसारको वैचारिकीमा आधारित भएर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ–राजनीतिक आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनका अनुसार सामाजिक-सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतना अभिवृद्धिका लागि संघर्ष गर्ने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने गरी आफूहरूको आगामी यात्रा अघि बढ्नेछ ।
झाले अबको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’सँग जोडिने बताएका छन् । विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि उक्त अभियानमार्फत अघि बढ्ने उनको भनाइ छ ।































