गृह मन्त्रीसँग भेट नपाए पछि सिंहदरबार गेटमै निहारिका र बिनुको विरोध प्रहरीसँग धकेलाधकेल

सिंहदरबारमा न्यायको घण्टी, गृहमन्त्रीलाई भेट्न नपाएपछि निहारिका र बिनुको प्रदर्शन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग भेट गरी आफ्ना माग र पीडा सुनाउने उद्देश्यले गृह मन्त्रालय पुगेका अभियन्ता निहारिका राजपुत र घरेलु हिंसा पीडित बिनु यादवलाई शनिबार सिंह दरबार प्रवेशमा रोक लगाइए पछि उनीहरूले गेटमै घण्टी बजाएर विरोध प्रदर्शन गरेका छन्।

सुरक्षा कर्मीले मन्त्रालय प्रवेश गर्न नदिए पछि उनीहरू सिंह दरबारको दक्षिण गेट अगाडि धर्नामा बसेर घण्टी बजाउँदै सरकार विरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा गेटतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो। त्यसक्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको र प्रदर्शनकारी तथा प्रहरीबीच धकेला धकेल भएको प्रत्यक्ष दर्शीहरूले बताएका छन्।

प्रदर्शन कारीहरूको आरोपअनुसार प्रहरीले उनीहरू लाई सडकबाट हटाउने क्रममा बल प्रयोग गर्दै लछार पछार गरेको थियो। घटना स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही समय तनाव रहे पनि पछि अवस्था सामान्य बनेको थियो।