गोरखा — गृहमन्त्री सुधन गुरुङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा उनले आवश्यक कागजात पूरा गरेका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरुङले प्रशासनिक सेवा नागरिकमैत्री, प्रभावकारी र झन्झटरहित हुनुपर्नेमा जोड दिँदै अनावश्यक ढिलासुस्ती तथा प्रक्रियागत जटिलताको अन्त्य गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले कानुनी प्रक्रिया पूरा गरेका सेवाग्राहीले नागरिकता प्राप्त गर्न अनावश्यक रूपमा कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गरे।
निरीक्षणका क्रममा गृहमन्त्रीले सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन नियमित अनुगमन गर्न तथा नागरिकका गुनासा समयमै सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।
गृहमन्त्रीको निर्देशन कार्यान्वयन भए नागरिकता वितरण प्रक्रिया थप छिटो, सहज र सेवामुखी बन्ने विश्वास गरिएको छ।





























