काँग्रेसको काठमाडौं–५ मा ५०१ चुनावी सदस्यीय समिति गठन

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नं. ५ मा ५०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरेको छ। क्षेत्रीय सभापतिको नेतृत्वमा गठन गरिएको समितिमा केन्द्र, प्रदेश र क्षेत्रीय तहका संरचनाको प्रतिनिधित्व रहेको छ।

समितिको घोषणासभामा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको मुख्य रणनीति नागरिकसमक्ष आफ्ना योजनाहरू स्पष्ट र पारदर्शी रूपमा प्रस्तुत गर्नु र भ्रमको खण्डन गर्नु रहेको बताए। उनले नेपाली काँग्रेस अनुभव र योगदानले परिपक्व पार्टी भएको उल्लेख गर्दै ‘रूपान्तरित काँग्रेस’का रूपमा जनतामाझ गएको दाबी गरे।

महामन्त्री पौडेलले काँग्रेसले १० प्रमुख विकास एजेन्डा अघि सारेको, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार नियन्त्रणमा पार्टी प्रतिबद्ध रहेको बताए। नेपालको राजनीतिक स्थायित्वका लागि काँग्रेसको बहुमत आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा ऐतिहासिक सफलता हासिल हुने विश्वास व्यक्त गरे।