तीनकुनेको जग्गाको मुआब्जा अहिलेको दुई तिहाइको सरकारले दिनुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंको काटेश्वर महोत्सवको उद्घाटनमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मेयर साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए ।

उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकिर समेत गरे। उनले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिए ।

महानगरका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मुआब्जा वितरण भइसकेको छ । सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना तीन लाखका दरले २१ रोपनी ११ आना दुई पैसा १ दशमलब ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ ।