काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ ।
इजरायलमा युद्ध भइरहेले त्यहाँको परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
जीटूजी (सरकार-सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट गरिएको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने बताए ।
इजरायल पछिल्लो एक वर्षयता समयदेखि प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कंदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । लेबनानसँग पनि इजरायल युद्धमा छ ।