Hotel Panchthar Nepco Media

मागेजती फिरौत रकम नदिएपछि कुटिए कबाड व्यवसायी

काठमाडौं । एक कवाड व्यवसायीले मागेजती फिरौती रकम नदिएपछि अर्को कवाड व्यवसायीलाई कुटपिट गरेका छन् ।

ललितपुरको बालकुमारी खरीबोटमा दिलिप जयसवालले योजना बनाई कुटपिट गरेका हुन् । शनिबार जयसवालले बालकुमारीमा छलफल गर्ने भनेर बोलाएको र फिरौती रकम माग्दा दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् ।

जयसवाल यहाँ कवाड व्यवासाय गर्दै आएका भारतीय नागरिक हुन् । कुटपिटबाट घाइते हुने भने नेपाली नागरिक हुन् । जयसवालको योजनामा उनका व्यापारिक साझेदार समेत रहेका अभिषेकमान बस्नेत र आशिष बस्नेत, राजु ढुङगेलसहितले मिलेर कुटपिट गरेको पीडितले बताएका छन् । पीडितले आफूलाई गरिएको कुटपिट गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको र उक्त भिडियो प्रहरीमा बुझाएर कारबाहीको माग गरी उजुरी दिएका छन् ।

कुटपिटबाट रविशंकर प्रसाद र महाविर साह सोनार घाइते भएका छन् । रविशंकरको टाउकोसहित शरीर भरी कुटपिटबाट निलडाम र चोटपटक लागेको पाटन हस्पिटलले जनाएको छ । नाकबाट अत्यधिक रगत बगेपछि उनलाई तत्काल पाटन हस्पिटल लगिएको थियो । महाविरलाई समेत उनीहरुले अभद्रव्यवहार गर्दै हातपात गरेका थिए ।

पीडित महाविर र रविशंकरका अनुसार उनीहरुले काटेर फालिदिने र मागेको पैसा नदिए ज्यान तलमाथि हुने धम्की समेत दिएका छन् । ‘ज्यान सुरक्षित राख्ने हो भने १० लाख रुपैयाँ देउ, नत्र काटेर फालिदिन्छौं’ महाविरले भने ।

बालाजु औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले पुरानो टंकीको कबाडको समान लिलामीका लागि ठेक्का निकालेको थियो । सो ठेक्का महाविरले सबैभन्दा बढी रकममा सकार गरेका थिए । सोही अनुसार उनले ६ लाख १० हजार रकममा ठेक्का पाएका थिए ।

महाविरलाई सो ठेक्का परेपछि जयसवालले १० लाख फिरौत मागे । महाविरले आफूले पैसा दिन नसक्ने र आफ्ना व्यापारिक साझेदारले समेत नमान्ने भएकाले यसबारे छलफल गर्ने बताए । त्यहि बेला जयसवालले महाविरकै फोनबाट रविशंकरलाई फोन गरेर बोलाएको महाविरले बताए ।

महाविर आएपछि उनीहरुले १० लाख रुपैयाँ दिनुपर्ने शर्त राखे । केही गुण्डा बोलाएर सुरुमा धम्क्याएको र दिन नमानेपछि कुटपिट गरेको पीडितले बताएका छन् । कुटपिटबाट घाइतेको लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनाबारे ललितपुर प्रहरी परिसरले सोधखोज गरिरहेको एसपी नवरत्न पौडेलले बताएका छन् ।