काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले तयार पारेको प्रतिवेदन आजै संसद बैठकमा बुझाउने भएको छ।
प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ र आजै प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस गरिने समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिए।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र ९टीओआर०मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको छ । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
समितिले रास्वपाका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ । लामिछानेलाई कारबाहीका लागि सिफारिससमेत गरेको छ । ‘सहकारीको रकम गीतेन्द्रबाबु राई ९जीबी० ले गोर्खा मिडियामा ल्याएर जम्मा गरे, त्यसमा लामिछाने प्रबन्ध निर्देशक थिए । त्यहाँ आएको पुँजी परिचालनमा उनको पनि भूमिका देखियो,’ प्रतिवेदनमा भनिएको छ ।
पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पनि रविको नाम जोडिएको छ । गोर्खा मिडियामा पनि समितिले लामिछानेलाई दोषी देखाएको छ ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि गोर्खा मिडिया नेटवर्कबाटै रविलाई दोषी प्रमाणित गर्न सकिने सुझाव समितिलाई दिएका थिए । जेठ १५ गते एमाले सांसद सूर्य थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
समितिले दोषी किटान गरी प्रतिवेदन बुझाएमा लामिछानेले पदबाट राजीनामा दिई अनुसन्धानको कठघरामा उभिनुपर्ने हुन्छ ।





























