Hotel Panchthar Nepco Media

कोशी सरकार गठनमा राप्रपा तटस्थ बस्ने

काठमाडौं । कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ। शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा (एमाले)का समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबो दावी प्रस्तुत गरेका छन ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् । जुन नियुक्ती बारेमा राप्रपाले पनि आफनो धारणा बनाउन बैठक बोलाएको थियो ।