मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ ।
वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उहाँका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीय शिलाको शव फेला परेको हो ।
सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो । उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै उक्त पहिरामा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीय दिव्या पहरी छन् ।
पहिरामा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीय सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो ।