ललितपुरमा सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी बन्यो सीजी मोटर्स, आन्तरिक राजस्व कार्यालयले गर्‍यो सम्मान

काठमाडौं ।चौधरी ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।

ललितपुरस्थित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सीजी मोटर्सलाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सानेपास्थित ग्रुपको मुख्यालयमा सम्मानपत्र प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका अध्यक्ष चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र राष्ट्रको आर्थिक विकासप्रतिको प्रतिबद्धताको सम्मानका रूपमा लिएको बताए ।

‘कर राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार हो । व्यवसायको सफलता केवल व्यावसायिक विस्तार र मुनाफामा मात्र सीमित हुँदैन, राज्यप्रतिको दायित्व इमानदारीपूर्वक निर्वाह गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सीजी मोटर्सलाई प्राप्त यो सम्मानले हामीलाई अझ जिम्मेवार र उत्तरदायी भएर अघि बढ्न प्रेरित गरेको छ,’ उनले भने ।

सीजी मोटर्सले नेपालमा विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरण गर्दै आएको छ । कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्डका सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै नेपालको अटोमोबाइल क्षेत्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।