दमास्कस । सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल–असदविरुद्ध अदालतले कडा फैसला सुनाएको छ। १४ वर्षसम्म चलेको द्वन्द्वका क्रममा मानवताविरुद्धका अपराध र युद्ध अपराध गरेको ठहर गर्दै दुवैलाई मंगलबार मृत्युदण्ड सुनाइएको हो।
दमास्कसस्थित चौथो फौजदारी अदालतले बसर अल–असदको अनुपस्थितिमै मुद्दाको फैसला गरेको हो। अदालतका न्यायाधीश फखरेद्दिन अल–अर्यानका अनुसार तत्कालीन शासनले सुरक्षा तथा सैन्य संरचनालाई प्रयोग गरी हत्या, यातना र मनोमानी गिरफ्तारीजस्ता गम्भीर अपराध गरेको थियो।
मुद्दामा असदका मावलीतर्फका काका तथा पूर्वसुरक्षा अधिकारी आतेफ नाजिब पनि दोषी ठहर भएका छन्। उनलाई सन् २०११ मा दारा प्रान्तमा सरकारविरोधी आन्दोलन दबाउने क्रममा भएको हत्या, यातना र गैरकानुनी गिरफ्तारीमा जिम्मेवार ठहर गर्दै मृत्युदण्ड दिइएको हो।
दारा घटनामा सरकारविरोधी नारा लेखेको आरोपमा किशोरहरूलाई पक्राउ गरी यातना दिइएको थियो। त्यस घटनाले सिरियामा व्यापक प्रदर्शन चर्काउन भूमिका खेलेको थियो। सरकारी सुरक्षाकर्मीको दमन बढ्दै गएपछि आन्दोलन सशस्त्र संघर्षमा परिणत भएको थियो।
सन् २०२४ को डिसेम्बरमा विद्रोहीको सैन्य अभियानपछि असद परिवारको करिब पाँच दशक लामो शासन ढलेको थियो। त्यसपछि बसर र माहेर रुस पुगेका छन्। दुवै सिरियाबाहिर रहेकाले अदालतको फैसला तत्काल कार्यान्वयन हुने अवस्था छैन।
सन् २०११ देखि चलेको द्वन्द्वका कारण सिरियामा ठूलो मानवीय संकट सिर्जना भएको छ। करिब पाँच लाख मानिसको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित भएको बताइन्छ। असद शासनका अन्य उच्च अधिकारीमाथि पनि कानुनी कारबाही अघि बढिरहेको छ।































