काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन् । गणतन्त्र दिवस-२०८२ का अवसरमा शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताएका हुन्।
प्रचण्डले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्नेमा जोड थियो। ‘माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको हो’, उनले भने, ‘गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।’
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरेका छन् ।
प्रचण्डले गणतन्त्र दिवसको अवसरमा दिएको शुभकामना जस्ताकोतस्तै ।
गणतन्त्र दिवसको शुभकामना
गणतन्त्र दिवस २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता तथा घाइते योद्धाहरूको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्दछु ।
नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ ।
हाम्रो पार्टीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा सञ्चालित महान् जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिहरूको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको छ । गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो । अहिले एकातिर सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन् । यो बेलामा यथास्थिति र प्रतिगामी दुबै खाले हर्कतका विरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ ।
अन्त्यमा, गणतन्त्र दिवसले हामी सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१५ जेठ, २०८२
नेपाल संवत्स् ११४५ तछलाथ्वः ३।९
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष