काठमाडौं । आठौं ‘इन्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय कार्यक्रममा ओमान रहेकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग भेटघाट गरेकी छन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यबाहक महाबाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सिलर र त्यहाँ कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो ।
परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले त्यसका लागि सबैले तदारुकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइकी छन् । विदेशमा रहेका नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मीतव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिएको दूतावासले बताएको छ ।
नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवद्र्धनमा नियोगहरुले विशेष सक्रियता देखाउन तथा सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा कुनै व्यवधान देखिएमा बाधा अड्काउ फुकाउन परराष्ट्र मन्त्रालय तत्पर रहेको पनि उनले बताइन् ।
सरकारले नेपाली श्रमिकहरूको हकहित र सेवा, सुविधाको सुरक्षा एवं प्रवद्र्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी दिइन् । उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानबारे छलफल भएको थियो ।




















