नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व को कावासेती नगरपालिका ४ की ७० वर्षीया धनमाया सार्कीको आँखामा विगत १० महिना देखि ओभाएको छैन् । वैदेशिक रोजगारीको लागि मलेसिया गएकी छोरीको हत्या भएको खबरले उनी स्तभ्द भएकी छन् । छोरीको हत्या भएको खबर सुनेदेखि उनको आँखामा आँसु रोकिएको छैन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकी छोरीले गत वैशाखमा मातातीर्थको दिन आमाको मुख हेर्ने दिनको फोन संवाद नै अन्तिम थियो । त्यसपछिको फोन उनको २५ वर्षीय छोरीको हत्या भएको खबरको थियो ।
श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ। तर हालसम्म न शव आएको छ, न त राहत रकम नै। लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा बुढीआमा र नाबालिग छोरी बेचैनी थप बढेको छ। छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्।
शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाएपनि कुनै सुनुवाइ भएको छैन् । तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्।
वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ। तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।






























