मेयर बालेनद्वारा ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘न्यायिक समिति ‘दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मङ्गलबार आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौंका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कामपाका मेयर शाहले सूचीकृत एक सय २५ जना मेलमिलापकर्तालाई शपथ गाएका थिए । मेलमिलाप प्रवद्र्धनमा कामपाले निर्माण गरेको म्युजिक भिडियो समेत सार्वजनिक भएको थियो । कामपाले २०७९ चैत १५ र १६ गते काठमाडौँमा न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव, सिकाइ र भोगाइ आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनले ‘११ बुँदे काठमाडौं घोषणा’ जारी गरेको थियो ।

न्यायिक समितिका पदाधिकारीहरुका बीचमा क्षेत्राधिकार, समितिको भूमिका, समितिसम्बद्ध कानुनका विषयमा थप स्पष्ट हुने अपेक्षा राखेर आयोजना गरिएको सम्मेलनमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियालगायत विषयमा प्रस्तीितकरण, टिप्पणी, अनुभव प्रस्तुतिसहित अन्तरक्रियात्मक संवाद भएको थियो ।

न्यायिक समितिको दिशालाई निर्देशित गर्न सम्मेलनले देखाएको बाटो र प्रक्रियासम्बन्धी निचोडलाई दिग्दर्शनमा समेटिएको छ । यसले भौगोलिक, सामाजिक, आर्थिक विविधताका बिचमा समितिले अवलम्बन गर्नुपर्ने साझा मार्ग निर्देशित गर्नेछ । यसलाई सबै स्थानीय तहमा पुर्याइनेछ ।