संसदमा पेस गरिएको सामाजिक सञ्जाल विधेयकमा पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले अस्वीकार्य रहेको महासंघले जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरेर अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको उल्लेख छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघले सरकार र संसदलाई आग्रह गरेको छ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने कानुन ल्याउने तयारी गरेको छ । विधेयक गत सोमबार मन्त्रिपरिषद् बैठकले पारित गर्दै संसद्मा पठाउने निर्णय गरेको थियो ।राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।