वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो ६ महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पूर्वाधार, ऊर्जा, कृषि तथा वन क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन्।
पूर्वाधार विकास र सडक सञ्जाल
पूर्वाधार तथा यातायात क्षेत्र अन्तर्गत ग्रामीण काठमाडौँ तथा देशका दुर्गम क्षेत्रमा ३५.१६ किलोमिटर ग्रामीण सडक कालोपत्र गरिएको छ। यसै अवधिमा १५ वटा सडक पुल र ४९ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ।
नागढुंगा सुरुङमार्गलाई परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ भने राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को भौतिक प्रगति ५०.०२ प्रतिशत पुगेको छ। द्रुतमार्ग अन्तर्गतकै महादेवटार सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। साथै, विगतका आन्दोलनका क्रममा क्षति पुगेका १३३ वटा सरकारी भवनहरूको मर्मत तथा प्रबलीकरण कार्य सम्पन्न गरिएको छ।
ऊर्जा र सिँचाइ क्षेत्रको प्रगति
ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रतर्फ देशको कुल विद्युत् जडित क्षमता ४,२५८ मेगावाट पुगेको छ, जसमा पछिल्लो ६ महिनामा मात्रै १६१ मेगावाट विद्युत् प्रणालीमा थपिएको छ।
चालु आर्थिक वर्षको यसै अवधिमा १ हजार १९६ गिगावाट घण्टा विद्युत् भारततर्फ निर्यात गरी १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिएको विवरणमा उल्लेख छ। यसका साथै ६ महिनाको अवधिमा थप २ हजार ९४८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
कृषि र वन क्षेत्रमा अनुदान तथा कार्बन व्यापार
कृषि तथा वन क्षेत्रमा उखु उत्पादक ६५ हजार ६०० कृषकलाई २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी प्रोत्साहन अनुदान वितरण गरिएको छ। त्यसैगरी, बाली तथा पशुधन बीमा प्रिमियमबापत १ अर्ब २४ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने २ लाख ५८ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको छ।
किसानहरूको वास्तविक तथ्याङ्क सङ्कलनका लागि सञ्चालित सूचीकरण प्रणालीमा हालसम्म २६ लाख ७७ हजारभन्दा बढी किसानहरू दर्ता भएका छन्। वन क्षेत्रतर्फ, कार्बन व्यापारमार्फत विश्व बैंकबाट ९.४ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३४ करोड रुपैयाँ) वन विकास कोषमा प्राप्त भएको छ।































