अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड(१९ संक्रमण पुष्टि भएको छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार पुनः राष्ट्रपति बन्ने दौडमा रहेका बाइडेन बुधबार लस भेगस पुगेका थिए। त्यहाँ परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाइडेनलाई खोप दिइएको र मध्यम लक्षणहरू देखिएको जनाइएको छ । राष्ट्रपति बाइडेन आफैले सामाजिक सञ्जालमार्फत् आफू बिरामी भएको जानकारी गराएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन्। उनले चुनावी प्रचारप्रसारका आगामी कार्यक्रम रद्द गरेको पनि ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसार तीव्र बनाइरहेको समयमा कोभिडका कारण आइसोलेसनमा बस्नुपर्दा घाटा लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।