Hotel Panchthar Nepco Media

भारतको कश्मीरमा चरमपन्थी आक्रमण, पाँच सैनिक मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार चरमपन्थीले गरेको हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।

सोमबार जम्मु(कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला गरेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको जनाइएको छ ।

हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् ।

जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।

सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो ।

भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दुस्ख पनि व्यक्त गरेका छन् । उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु(कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।