अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ ।
सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र न्यायपूर्ण संक्रमणसम्बन्धी केही प्रक्रियागत निर्णय भए पनि समग्र राजनीतिक प्रतिबद्धता समेट्ने मुख्य कभर डिसिजनमा सहमति जुट्न सकेन
जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको लक्ष्यअनुरूप कार्ययोजना र जलवायु न्यायका विषयमा विश्वका सरकारहरू साझा निष्कर्षमा पुग्न सकेनन् । जलवायु संकटको प्रभाव तीव्र हुँदै गएको र जोखिममा रहेका देशहरूले ठोस कदमको माग गरिरहेका बेला सम्पन्न सम्मेलनले अपेक्षित राजनीतिक प्रतिबद्धता जुटाउन सकेन ।
जलवायु संकटबाट बढी प्रभावित विकासशील देशहरूले अनुदानमा आधारित सार्वजनिक वित्त, पर्याप्त स्रोतसहितको न्यायपूर्ण संक्रमण संयन्त्र र नवीकरणीय ऊर्जातर्फ रूपान्तरणको स्पष्ट योजना माग गर्दै आएका छन् । तर कोप–३१ ले ती मागलाई ठोस निर्णयमा परिणत गर्न सकेन ।
नेपालजस्ता जलवायु जोखिममा रहेका देशलाई विपद् प्रभावित समुदायको पुन:स्थापना, पुनर्निर्माण, जलवायु अनुकूलन र जोखिम न्यूनीकरणका लागि ठूलो आर्थिक स्रोत आवश्यक छ । सार्वजनिक जलवायु वित्तको सुनिश्चितता नहुँदा यस्ता देश बहुपक्षीय विकास बैंक तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिन बाध्य हुने जोखिम बढ्दै गएको छ । जलवायु संकटको सामना गर्न थप ऋण लिनुपर्ने अवस्थाले विकासशील देशको आर्थिक संकटलाई अझ गहिरो बनाउन सक्छ ।
जलवायु संकटको जिम्मेवारी र त्यसको असर भोग्ने देशबीचको असमानता सम्बोधन गर्नुपर्ने माग यसपटक पनि कमजोर सम्बोधनमा सीमित भयो । ऐतिहासिक रूपमा बढी उत्सर्जन गरेका विकसित देशले वित्तीय जिम्मेवारी पूरा नगर्दा जलवायु संकटको भार आर्थिक रूपमा कमजोर देशमाथि थपिने अवस्था कायम छ ।
विकसित देशको असहमतिले पहिलोपटक मुख्य कभर डिसिजन रोकियो
ग्लास्गोमा सम्पन्न कोप–२६ देखि सम्मेलनका समग्र राजनीतिक प्रतिबद्धता समेट्ने कभर डिसिजनमा सहमति कायम गर्ने अभ्यास हुँदै आएको थियो । यसपटक भने मुख्य कभर डिसिजन नै पारित हुन सकेन ।
कोपमा औपचारिक एजेण्डामा समेटिएका विषयबाहेक सम्मेलनका प्रमुख राजनीतिक मुद्दामा साझा प्रतिबद्धता कायम गर्न अध्यक्षले सबै देशलाई सहमतिमा ल्याएर कभर डिसिजन तयार गर्ने अभ्यास हुन्छ । तर कोप–३१ मा जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त र उत्सर्जन न्यूनीकरणसम्बन्धी विषयमा मतभेद कायम रहेपछि मुख्य राजनीतिक निर्णय अघि बढ्न सकेन ।
यसअघि मुख्य निर्णयमा सहमति जुटाउन समस्या देखिँदा विकासशील देशको असहमतिका कारण वार्ता प्रभावित हुने गरेको थियो । यसपटक भने विकसित देशहरूको असहमतिले सम्मेलनको मुख्य निर्णय प्रभावित भयो ।
अध्यक्षले प्रस्ताव गरेको कभर डिसिजनमा जीवाश्म इन्धनको प्रयोगबाट संक्रमणको स्पष्ट उल्लेख नभएको भन्दै युरोपेली संघ (ईयू), बेलायत, जर्मनी, नर्वे, पनामा, बेलिज, मार्सल आइल्यान्ड्स र भानुआतु लगायतले मस्यौदा अस्वीकार गरे ।
उनीहरूको मुख्य असहमति मस्यौदामा कोइला, तेल र ग्यासबाट संक्रमणको स्पष्ट मार्गचित्र नहुनु, पेरिस सम्झौताको १.५ डिग्री तापक्रम लक्ष्यअनुरूप विज्ञानमा आधारित कार्ययोजना नआउनु र विकासशील देशका लागि जलवायु वित्तको ठोस प्रतिबद्धता नहुनु थियो ।
ईयूले जीवाश्म इन्धनको उल्लेखै नभएको निर्णय स्वीकार गर्न नसकिने बताएको थियो । पनामा र मार्सल आइल्यान्ड्सले कार्बन क्याप्चरजस्ता प्रविधिमा निर्भर भएर जीवाश्म इन्धनको निरन्तर प्रयोगलाई वैधता दिन खोजिएको भन्दै आपत्ति जनाए ।
नर्वे, बेलायत र अति कम विकसित देशहरूको समूह (एलडीसी) ले विगतका सहमति कमजोर पार्न नहुने र विज्ञानले मागेका कदमबाट पछि हट्न नहुने अडान राखेका थिए ।
उनीहरूको विरोध शब्दावलीमा मात्रै सीमित थिएन । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, अनुकूलन वित्तको सुनिश्चितता र जलवायु संकटको जिम्मेवारीअनुसार न्यायपूर्ण कार्यको माग थियो ।

मुख्य कभर डिसिजनमा सहमति नजुटेपछि विश्व वातावरण सुविधा (जीईएफ) सम्बन्धी निर्णयसमेत अघि बढ्न सकेन । नेपालले प्रस्तुत गरेको पर्वतीय एजेण्डालाई छुट्टै निर्णयका रूपमा स्थापित गर्ने प्रयास पनि मुख्य निर्णयसँगै अड्कियो । यद्यपि बोन सेसनमा आगामी दुई वर्ष माउन्टेन वर्कसप सञ्चालन गर्ने विषयमा पहिलो दिन नै निर्णय भइसकेको थियो ।
जलवायु वित्त, विशेषगरी अनुकूलनका लागि वित्त बढाउने, त्यसको सुनिश्चित आधार तय गर्ने र विकसित देशको वित्तीय जिम्मेवारी स्पष्ट गर्ने विषयमा मतभेद कायम रह्यो । जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानीलाई सम्बोधन गर्न छुट्टै प्राथमिकता, ठोस कार्ययोजना र थप वित्तीय प्रतिबद्धता सुनिश्चित गर्ने विषयमा पनि अपेक्षित निर्णय हुन सकेन ।
जीवाश्म इन्धनको उल्लेख हटेपछि ईयूको असहमति
सम्मेलनको अन्तिम चरणमा ईयूले प्रस्तावित सम्झौताप्रति औपचारिक असहमति जनायो । ईयूको मुख्य आपत्ति अन्तिम मस्यौदामा जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र नसमेटिनु थियो ।
आयरल्यान्डका जलवायु मन्त्री ड्याराग ओ’ब्रायनले ईयूका तर्फबाट अन्तिम पूर्ण बैठकमा सम्झौताप्रति असहमति व्यक्त गरेका थिए । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट योजना, जलवायु वित्तमा ठोस प्रतिबद्धता र पेरिस सम्झौताको तापक्रम लक्ष्यअनुरूप कार्ययोजना नआएको भन्दै ईयूले मस्यौदा स्वीकार गर्न नसकिने बताएको थियो ।
सन् २०१५ मा भएको पेरिस सम्झौताले विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर देशहरूले गरेका उत्सर्जन कटौतीका प्रतिबद्धता र वैज्ञानिक अध्ययनले आवश्यक ठानेको कटौतीबीच ठूलो अन्तर छ ।
ईयूको भनाइमा कोप–३१ ले यही अन्तर घटाउने प्रभावकारी बाटो देखाउन सकेन । जीवाश्म इन्धनको उल्लेख हटाइनु, कार्यान्वयनका लागि पर्याप्त प्रतिबद्धता नहुनु र जलवायु विज्ञानले देखाएको आवश्यकतालाई सम्बोधन गर्न नसक्नुले सम्झौता कमजोर बनेको उसको तर्क थियो ।
तर ईयूको विरोधलाई सबै जलवायु अभियन्ताले पूर्ण रूपमा स्वागत गरेका छैनन् । जलवायु अभियानकर्मीहरूले ईयू आफैंले पनि सम्मेलनका कतिपय महत्त्वपूर्ण विषयमा प्रगति रोक्न भूमिका खेलेको आरोप लगाएका छन् । विशेषगरी न्यायपूर्ण ऊर्जा परिवर्तन र जलवायु अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा ईयूको अडानमाथि प्रश्न उठाइएको छ ।
जीवाश्म इन्धनको उल्लेख नभएको कमजोर सम्झौताको विरोध गरे पनि जलवायु न्याय र विकासशील देशको आर्थिक आवश्यकताका विषयमा ईयूको आफ्नै भूमिका विरोधाभासपूर्ण रहेको उनीहरूको आलोचना छ ।
तेल उत्पादन नियन्त्रणबिना जलवायु सम्झौता स्वीकार्य छैन : पानामा
ईयूको तुलनामा पानामाले जीवाश्म इन्धनको विषयलाई अझ स्पष्ट रूपमा उठाएको थियो । पानामाका वातावरणमन्त्री जुआन कार्लोस नाभारोले सम्मेलनको नेतृत्व गरिरहेका टर्की र अस्ट्रेलियाका प्रतिनिधिहरूसमक्ष असहमति व्यक्त गरेका थिए ।
पानामाको मुख्य माग जीवाश्म इन्धनको उत्पादन र प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धता थियो । जलवायु सम्झौतामा तेल उत्पादन नियन्त्रण र जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट उल्लेख हुनुपर्ने उसको अडान थियो ।
जलवायु परिवर्तनको प्रमुख कारण जीवाश्म इन्धन हो भने यसको समाधान उत्सर्जन घटाउने सामान्य प्रतिबद्धतामा मात्र सीमित हुन नहुने पानामाको तर्क थियो । कोइला, तेल र ग्यासको उत्पादन तथा प्रयोगबाट कहिलेसम्म बाहिरिने भन्ने विषय अन्तर्राष्ट्रिय सम्झौतामा स्पष्ट गरिनुपर्ने उसको माग थियो ।
दुबईमा सम्पन्न कोप–२८ ले जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने निर्णय गरेको थियो । त्यसलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको थियो । तर कोप–३१ को मस्यौदामा त्यही विषय हटाइएपछि असन्तुष्टि चुलिएको हो ।
पानामाका वातावरणमन्त्री नाभारोले जलवायु वार्तालाई पेट्रोलियम माफियाले बन्धक बनाएको आरोप लगाएका थिए ।
जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूसँग बाढी, खडेरी, समुद्री सतह वृद्धि र अन्य विपत्तिसँग जुध्न पर्याप्त स्रोत नभएको भन्दै पानामाले धनी देशहरूबाट आर्थिक सहयोगको स्पष्ट प्रतिबद्धता माग गरेको थियो । सम्झौतामा सहभागी नहुने भन्दै पानामाले औपचारिक असहमति जनायो ।
नागरिक समाजको असन्तुष्टि : जीवाश्म इन्धन उद्योगलाई संरक्षण
विश्वका २ हजार ५ सयभन्दा बढी नागरिक समाज संस्थाको प्रतिनिधित्व गर्ने क्लाइमेट एक्सन नेटवर्क (क्यान) ले पनि अन्तिम मस्यौदाप्रति कडा असन्तुष्टि जनाएको थियो ।
जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट बाटो नदेखाउनु, विकासशील देशलाई आवश्यक आर्थिक सहायता सुनिश्चित नगर्नु र न्यायपूर्ण ऊर्जा परिवर्तनलाई प्रभावकारी रूपमा अघि नबढाउनु सम्झौताका प्रमुख कमजोरी भएको क्यानको आलोचना थियो ।

कार्बन क्याप्चर तथा स्टोरेज र कार्बन डाइअक्साइड रिमुभलजस्ता प्रविधिलाई अनुचित महत्त्व दिइएको भन्दै पनि क्यानले आलोचना गरेको थियो । यी प्रविधिले उद्योगबाट निस्कने कार्बन डाइअक्साइडलाई संकलन तथा भण्डारण गर्ने वा वायुमण्डलबाट हटाउने उद्देश्य राख्छन् । तर तिनको वास्तविक प्रभावकारिता, लागत, विस्तार र जीवाश्म इन्धनको निरन्तर प्रयोगलाई औचित्य दिने सम्भावनाबारे विवाद छ ।
सम्झौताले जलवायु संकट समाधानभन्दा जीवाश्म इन्धन उद्योगका हितलाई बढी संरक्षण गरेको भन्दै क्यानले अन्तिम मस्यौदालाई अस्ट्रेलियाको अध्यक्षताबाट ग्यास उद्योगलाई दिइएको उपहारका रूपमा चित्रण गरेको थियो ।
खुम्चियो लैङ्गिक प्रतिबद्धता
लैङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी निर्णयले पनि गम्भीर प्रश्न उठाएको छ । कार्यान्वयनमुखी सम्मेलनका रूपमा पहिचान बनाउन खोजेको कोप–३१ ले महिला सहभागिता र लैङ्गिक उत्तरदायी जलवायु कार्ययोजनाका विषयमा अपेक्षित प्रतिबद्धता देखाउन सकेन ।
बाकुमा सम्पन्न कोपमा लैङ्गिक समानता, महिला सशक्तीकरण, जलवायु वित्त, निर्णय प्रक्रियामा सहभागिता र संस्थागत जवाफदेहितालाई जोड दिइएको थियो । त्यसपछि बेलेम लैङ्गिक कार्ययोजनाको कार्यान्वयनका लागि थप सहयोग आवश्यक रहेको स्वीकार गरिएको थियो ।
पछिल्लो सम्मेलन भने विगतका प्रयासको प्रशंसा गर्ने र कार्ययोजनाको कार्यान्वयनका लागि थप सहयोग आवश्यक रहेको स्वीकार गर्ने प्रक्रियामै सीमित बन्यो । निर्णय प्रक्रियामा महिलाको पूर्ण, अर्थपूर्ण र समान सहभागिताको महत्त्वलाई जोड दिइए पनि नयाँ लक्ष्य, समयसीमा वा स्पष्ट कार्यान्वयन योजना आएन ।
जलवायु वित्तमा महिलाको प्रत्यक्ष पहुँच सुनिश्चित नगरी लैङ्गिक न्याय सम्भव छैन । विशेषगरी ग्रामीण, आदिवासी र जलवायु जोखिममा रहेका समुदायका महिलाका लागि छुट्टै वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने आवाज उठिरहेका बेला पाँच बुँदे निष्कर्षले कुनै निश्चित वित्तीय रकम, महिला लक्षित वित्तीय संयन्त्र वा अनुगमनयोग्य लक्ष्य तोक्न सकेन । विकासशील देशलाई थप सहयोग आवश्यक रहेको सामान्य प्रतिबद्धता मात्र दोहोर्याइयो ।
हिमाली क्षेत्रबाट उद्गम भएका जलवायुजन्य विपद्को असर महिलामाथि समेत बढी पर्ने भएकाले नेपालका लागि हिमाली क्षेत्रका महिलाको जलवायु न्याय विशेष महत्त्वको विषय हो । नेपालले अन्ताल्याको वार्तामा हिमाली मुद्दामा केन्द्रित प्रस्ताव भुटानसँग मिलेर दर्ता गराएको थियो ।
मंगोलियाले दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाले भोग्ने विशेष चुनौतीलाई सम्बोधन गर्ने छुट्टै अनुच्छेद प्रस्ताव गरेको थियो । तर अन्तिम पाँच बुँदे निष्कर्षमा उक्त विषय समेटिएन ।
न्यायपूर्ण ऊर्जा परिवर्तनमा श्रमिक र समुदायको सुरक्षा कसले गर्ने ?
विश्व अर्थतन्त्रलाई कोइला, तेल र ग्यासमा आधारित प्रणालीबाट नवीकरणीय ऊर्जातर्फ लैजानु जलवायु संकट समाधानको महत्त्वपूर्ण कदम हो । तर यो परिवर्तन गर्दा जीवाश्म इन्धन उद्योगमा निर्भर श्रमिक, स्थानीय समुदाय र कमजोर आर्थिक अवस्थाका मानिस प्रभावित हुन सक्छन् ।
न्यायपूर्ण ऊर्जा परिवर्तनले प्रभावित श्रमिकलाई वैकल्पिक रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र नयाँ आर्थिक अवसर उपलब्ध गराउनुपर्छ । नवीकरणीय ऊर्जाको विस्तारबाट सिर्जना हुने रोजगारीमा स्थानीय समुदायको पहुँच सुनिश्चित हुनुपर्छ ।
तर कोप–३१ ले न्यायपूर्ण ऊर्जा परिवर्तनका लागि आवश्यक आर्थिक स्रोत, सामाजिक सुरक्षा र कार्यान्वयन संयन्त्रलाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेन ।
जलवायु परिवर्तन रोक्ने प्रयास र त्यसको असरबाट जोगिने प्रयास फरक विषय हुन् । उत्सर्जन घटाउनु जलवायु परिवर्तन न्यूनीकरण हो भने बाढी, पहिरो, खडेरी, तापलहर र समुद्री सतह वृद्धिका असरबाट समुदायलाई सुरक्षित राख्नु अनुकूलन हो ।
विकासशील देशका लागि अनुकूलन अत्यन्त महत्त्वपूर्ण छ । किनभने उनीहरूसँग जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक र प्राविधिक स्रोत सीमित छन् । क्यानले धनी देशहरूले अनुकूलनका लागि उपलब्ध गराउने आर्थिक सहायता उल्लेखनीय रूपमा बढाउनुपर्ने माग गरेको छ । सन् २०३५ सम्म वार्षिक कम्तीमा १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्वसनीय योजना आवश्यक रहेको उसको माग छ ।
जलवायु वार्ताको अर्को संवेदनशील विषय जलवायु परिवर्तनका कारण भइसकेको क्षति र नोक्सानी हो । उत्सर्जन घटाउन प्रयास गरे पनि जलवायु परिवर्तनको असरबाट पूर्ण रूपमा जोगिन सकिँदैन । बाढी, आँधी, खडेरी, हिमताल विस्फोट र समुद्री सतह वृद्धिले ठूलो जनधनको क्षति गराउन सक्छ ।
यस्तो क्षतिपछि पुनर्निर्माण र प्रभावित समुदायको पुन:स्थापनाका लागि आर्थिक सहायता आवश्यक हुन्छ । यही अवधारणालाई क्षति तथा नोक्सानी वित्त भनिन्छ ।
विकासशील देशहरूको माग जलवायु परिवर्तनमा ऐतिहासिक रूपमा बढी योगदान गरेका धनी देशहरूले प्रभावित राष्ट्रलाई पर्याप्त सहायता उपलब्ध गराउनुपर्छ भन्ने हो । यस्तो सहायता ऋणका रूपमा नभई अनुदान हुनुपर्ने उनीहरूको अडान छ । जलवायु परिवर्तनको क्षति भोगेका देशलाई थप ऋणको बोझ थोपर्नु अर्को अन्याय हुने उनीहरूको तर्क छ ।
प्रतिबद्धता कार्यान्वयनको कोप पश्चगमनतर्फ
सहमति हुनु मात्रै सफलता होइन, त्यसले के परिवर्तन गर्छ भन्ने मुख्य प्रश्न हो । कोप–३१ को अन्तिम चरणमा देखिएको विवादले अन्तर्राष्ट्रिय जलवायु वार्ताको आधारभूत समस्या फेरि उजागर गरेको छ । विश्वका सरकारहरू जलवायु संकटको गम्भीरता स्वीकार गर्छन्, तर त्यसको समाधानका लागि आवश्यक राजनीतिक निर्णय, आर्थिक प्रतिबद्धता र कार्यान्वयनमा एकमत छैनन् ।
जलवायु न्यायको अर्थ सबै देशले एउटै जिम्मेवारी लिनु होइन । ऐतिहासिक रूपमा बढी प्रदूषण गरेका र आर्थिक रूपमा सक्षम देशहरूले बढी जिम्मेवारी लिनु, जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशलाई आवश्यक स्रोत उपलब्ध गराउनु र ऊर्जा परिवर्तनको भार श्रमिक तथा गरिब समुदायमाथि नथोपर्नु नै यसको मूल मर्म हो ।
कोप–३१ को विवादले यही प्रश्नलाई विश्व जलवायु राजनीतिमा फेरि केन्द्रमा ल्याएको छ । जीवाश्म इन्धनबाट संक्रमणको स्पष्ट मार्गचित्र, जलवायु वित्तको सुनिश्चितता र जलवायु संकटबाट प्रभावित देशलाई न्यायपूर्ण सहयोग गर्ने प्रतिबद्धताबिना जलवायु सम्मेलनका निर्णय औपचारिक घोषणामा सीमित हुने जोखिम बढेको छ ।





























