टेक्सास अमेरिका ।अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय (नेपाली डायस्पोरा) मार्फत नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरणले बताएका छन्।
नेपाली महावाणिज्यदूतावास, ड्यालस (टेक्सास) द्वारा मङ्गलबार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायका अगुवाहरूसँगको भेटघाटमा कार्यवाहक राजदूत आरणले डायस्पोराको पहुँचलाई कूटनीतिक हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली समुदायको बाक्लो बसोबास भएका स्थानमा त्यहाँका कङ्ग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ । अब हामी तपाईँहरूको त्यो पहुँचलाई उपयोग गरेर अमेरिकासँगको कूटनीतिक सम्बन्धलाई अझ दरिलो बनाउन चाहन्छौँ,’ आरणले भने । अमेरिकासँग मात्र नभई मेक्सिको र कोस्टारिकासँग पनि कूटनीतिक सक्रियता बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि नेपाली डायस्पोरासँग सहयोगको आग्रह गरे ।
अमेरिकाको स्टेट डिपार्टमेन्ट, कङ्ग्रेसम्यान र सिनेटरलगायत राज्यका गभर्नर तथा मेयरहरूसँग पनि डायस्पोरार्फत समन्वय गर्न दूतावास तयार रहेको उनले बताए । आरणले भने, ‘जहाँ–जहाँ नेपाली डायस्पोराले कङ्ग्रेसम्यान र सिनेटरलाई भोट हालेका छन्, त्यहाँ–त्यहाँ पुगेर हामीले नेपालको पक्षमा लबिङ गर्नुपर्छ । तपाईँहरूले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूलाई ‘नेपाली दूतावास तपाईँलाई भेट्न चाहन्छ’ भनिदिनुहोस्, ‘हुन्छ’ भन्ने उत्तर आउनासाथ हामी भेट्न गइहाल्छौँ ।’ यसअघिको ह्वाइट हाउस प्रशासनले समेत नेपाली डायस्पोरासँग संवाद अघि बढाएको स्मरण गर्दै उनले उक्त संवाद टेक्सासबाटै सुरु भएको बताए ।
कार्यवाहक राजदूत आरणले दूतावासले सेवाग्राहीलाई सकेसम्म सहज सेवा प्रदान गर्ने पहल गरिरहेको जानकारी दिए । ‘दूतावासको टेलिफोन उठ्दैन भन्ने गुनासोलाई हामीले अहिले पूर्ण रूपमा सम्बोधन गरेका छौँ, राहदानी बनाउन दूतावास आउने जो–कोहीलाई पनि आवश्यक सहयोग गरेर पठाउने गरिएको छ,’ उनले भने । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनको भनाइ थियो ।
नेपाली डायस्पोरा एकजुट भएर काम गरेमा दूतावासलाई कार्यसम्पादनमा सहज हुने बताउँदै उनले राजदूतको नियुक्तिसँगै दूतावासले आफ्नो सक्रियता अझ बढाउने उल्लेख गरे । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ८० वर्ष पुगेको अवसरमा दूतावासले विभिन्न सहरमा विशेष कार्यक्रम आयोजना गर्ने सोच बनाएको बताउँदै उनले ती कार्यक्रममा कङ्ग्रेसम्यान, सिनेटर, गभर्नर र मेयरलगायतका जनप्रतिनिधिहरूको सहभागिता जुटाउन पहल गर्न समुदायलाई आग्रह गरे ।
कार्यक्रममा ड्यालसस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीले टेक्सासमा महावाणिज्यदूतावास स्थापना भएदेखि हालसम्म सञ्चालन भएका गतिविधि, प्रदान गरिएका सेवा तथा विभिन्न कार्यक्रमहरूबारे विस्तृत जानकारी गराएका थिए। उनले महावाणिज्यदूतावासले नेपाली समुदायसँगको सहकार्यमा गर्दै आएका काम, कन्सुलर सेवा तथा समुदायको हितका लागि भइरहेका पहलहरूबारे प्रकाश पारेका थिए।
कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव प्रविश श्रेष्ठ, कोषाध्यक्ष प्रेम थापालगायत संस्थाका पदाधिकारीहरू, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अध्यक्ष विकास उप्रेती, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव बेदराज बस्नेत तथा अमेरिका क्षेत्रका उपक्षेत्रीय संयोजक नेत्र पाण्डेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा आफ्ना जिज्ञासा, प्रश्न तथा सुझावहरू राखेका थिए ।




























