एमालेले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनमा लिनसक्नुपर्छ : पद्‌मा अर्याल

काठमाडौं ।नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने राजनीतिक चुनौती र परीक्षणको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन्।

बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको संगठन, शक्ति र कार्यकर्ताको पङ्क्तिलाई थप सक्रिय तथा सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

उनले जनताका जिज्ञासा, प्रश्न र आलोचनालाई बेवास्ता नगरी स्पष्ट जवाफसहित जनतामाझ जानुपर्ने बताइन्। जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने अभियानमा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने उनको भनाइ छ।

सचिव अर्यालले आगामी निर्वाचनलाई लक्षित गर्दै एकताबद्ध भएर अघि बढ्न र गत निर्वाचनमा भएको क्षतिलाई आगामी निर्वाचनबाट पूर्ति गर्ने गरी तयारीमा जुट्न पनि आह्वान गरिन्।