काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्न माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
इजलासले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन बोलाइएको छ।
सर्वोच्चको आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।





























