जनकपुरधाम । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश सर्लाहीको एउटै टोलका रहेको खुलेको छ।
मृतकहरूको औपचारिक सनाखत हुन बाँकी रहे पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर टोलका बासिन्दा रहेको गाउँपालिका अध्यक्ष कृष्ण यादवले जानकारी दिएका छन्।
अध्यक्ष यादवका अनुसार सुन्दरपुरका करिब पाँच परिवारका सदस्यहरू एउटै माइक्रोबस रिजर्भ गरेर काठमाडौं बाट छठ पर्व मनाउन घर फर्किरहेका थिए। सोही क्रममा माइक्रोबस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार १५ जना सवार माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खस्दा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन पुरुष र तीन बालक रहेका छन्।
अध्यक्ष यादवले मृतकमध्ये अधिकांश सुन्दरपुर टोलकै रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। उनका अनुसार काठमाडौंमा फलफूल व्यवसाय गर्दै आएका उनीहरू छठ पर्व मनाउन एउटै गाडी रिजर्भ गरेर गाउँ फर्किरहेका थिए।
‘घर फर्किनेहरू प्रायः काठमाडौंमै बसेर व्यापार व्यवसाय गरिरहेका थिए। छठ मनाउन एउटै गाडी रिजर्भ गरेर आइरहेको बेला दुर्घटनामा परेको हो। अहिलेसम्म पाँच परिवारका सदस्यहरू रहेको जानकारी पाएको छु,’ अध्यक्ष यादवले भने, ‘म गाउँका साथीहरूसँग घटनास्थलतर्फ जाँदै छु।’
यता, माइक्रोबसका धनी अवधेश चौधरीले चालकसँग राति १ बजेपछि सम्पर्क हुन नसकेको बताएका छन्। उनले माइक्रो व्यवसायी संघमार्फत दुर्घटनाबारे जानकारी पाएको बताए।
दुर्घटनाले सुन्दरपुर गाउँ शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किरहेका एउटै गाउँका परिवारका सदस्यहरूले ज्यान गुमाएपछि गाउँमा गहिरो पीडा र सन्नाटा छाएको छ।





























