सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरण र कमल ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोराहरू हुन् ।

घोराही उपमहानगर–१५ का किरणकिशोर दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर महाधिवेशनमा सहभागी भएका थिए । उनी खुला केन्द्रीय सदस्यतर्फ दुई हजार ४७२ मतसहित विजयी भएको नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

यस्तै घोराही–२ रामपुर घर भएका भाइ कमलकिशोर दाङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि थिए । उनी लुम्बिनी प्रदेशबाट सर्वाधिक मत ल्याएर भूगोलतर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

किरणकिशोर र कमलकिशोरका दाइ कृष्णकिशोर घिमिरे १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा कृष्णकिशोर प्रस्तावक थिए । उनलाई दाङमा कांग्रेसका कुशल संगठकका रुपमा चिनिन्छ । कृष्णकिशोर यसपटक महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएनन् ।

‘दाइ यसपटक लड्नु भएन । उहाँले हामीहरूलाई तिमीहरू राजनीति गर भन्नुभयो,’ नवनिर्वाचित केन्द्रीय सदस्य किरणकिशोरले अनलाइनखबरसँग भने ।

किरणकिशोर २०३६ सालदेखि पञ्चायती शासनको विरोधमा लागेका थिए । उनी २०४६ को जनआन्दोलन पश्चात् मजदूरको हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय भएका थिए ।

किरणकिशोरसँग जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धक भएर १८ वर्ष काम गरेको अनुभव छ । यी कार्यालयमा उनको कुशल व्यवस्थापकीय क्षमताको अहिले पनि स्मरण गरिन्छ ।

दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् ।