बाढी प्रभावितको उद्धारमा सरकारी निकायसँग समन्वय गर्न कार्यकर्तालाई रविको निर्देशन

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले गोरखाको स्यारखोला हुँदै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले बाढीका कारण भएको क्षतिले मर्माहत बनाएको बताउँदै यस्तो निर्देशन दिएका हुन्।

‘आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ,’ उनले भनेका छन्, ‘यस क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति म गहिरो सहानुभूति प्रकट गर्दछु। बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु।’

उनले थप भनेका छन्, ‘विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रुपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य साथीहरूलाई निर्देशन पनि दिन्छु।’