जब शिक्षकको माग राखेर विद्यार्थी नगरपालिका कार्यालयमै पढ्न थाले…

काठमाडौं । अछामको कमलबजार नगरपालिका–२ स्थित शक्ति माध्यमिक विद्यालयका विद्यार्थी बिहीबार बिहान विद्यालयको कक्षामा हुनुपर्ने हो ।

तर, कक्षा सुरु हुने समयमा उनीहरू नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगे । त्यहिँ किताब झिकेर पढ्न थाले । कक्षा कोठामा पढाउने शिक्षक नभएपछि उनीहरू नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

‘शिक्षकको माग राखेर विद्यार्थी नगरपालिकामा गएका हुन् । कक्षा ५ भन्दा माथिल्लो कक्षामा पढाउने शिक्षक हुनुहुन्न,’ विद्यालयका प्रधानाध्यापक कमल भण्डारीले भने ।

उनका अनुसार विद्यालयमा ९ कक्षासम्मका विद्यार्थी छन् । तर पढाउने शिक्षक छैनन् ।

‘प्राविको स्थायी दरबन्दी एक जना, राहत दरबन्दी दुई जना र एउटा बालिविकासको हुनुहुन्छ,’ उनले थपे, ‘निमावि अनुदानको एक जना हुनुहुन्छ । नगरको ५ जना शिक्षक हुनुहुन्थ्यो, तर नगरपालिकाले हटाइदियो ।’

नगर शिक्षक हटाएपछि माथिल्लो कक्षामा पढाउने शिक्षक नभएको उनले बताए । उनका अनुसार पाँचभन्दा माथिल्लो कक्षामा पढाउने एक जना मात्रै शिक्षक छन् ।

‘बाल विकाससहित अहिले पाँच जना मात्र शिक्षक हुनुहुन्छ,’ उनले भने, ‘नगरले हामी शिक्षक राख्दैनौ भनेपछि समस्या भएको हो  ।’

शिक्षकको माग राखेर गएका एक विद्यार्थी घाइतेसमेत भएका छन् ।

तर, नगरपालिकाले भने शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाउन विद्यालयलाई भनेको बताएको छ ।

प्रक्रिया अगाडि बढाउनुको सट्टा बदनाम गराउने उद्देश्यले विद्यार्थीलाई नगरपालिकामा आन्दोलन गर्न पठाएको नगर प्रमुख यज्ञप्रसाद ढकालले आरोप लगाए ।

‘दुई जना शिक्षकले छोड्नु भएको रहेछ । पालिकाको सहयोगमा मावि चलाएको हो,’ उनले भने, ‘विद्यालयलाई निर्णय गरेर पालिकामा निवेदन दिन भनेका छौँ । तर विद्यार्थीलाई प्रयोग गरेर आन्दोलन गरियो ।’

महालेखाले पनि विकास बजेटबाट शिक्षक कर्मचारीलाई तलब नखुवाउन समेत गराएको बताउँदै नगर प्रमुख ढकालले नगरले बजेट व्यवस्था गर्ने बताए ।

नगरले कुनै व्यवस्था गरेर भएपनि शिक्षक राख्ने उनले बताए । तर विद्यालयका प्रधानाध्यापकले कलिला बालबालिका पठाएर तोडफोड गरेको आरोप लगाउँदै उनले त्यस विषयमा छानबिन गरिने बताए ।

‘नगरमा तोडफोड भएको छ । विद्यार्थी पठाउनेलाई कारबाही गर्ने अवस्था आएको छ,’ नगरप्रमुख ढकालले भने ।