काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजेर ४० मिनेटमा एसएमएसमार्फत सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको जानकारी दिएको हो।
महाशाखाले बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्मका नदी किनार तथा आसपासका क्षेत्रमा नजान अनुरोध गरेको छ। बाढीको बहाव बढ्दा आसपासका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा खतरा उत्पन्न हुन सक्ने भएकाले सर्वसाधारणलाई उच्च र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। नदी किनारमा जाने, बाढी हेर्न जाने तथा जोखिमपूर्ण स्थानमा बस्ने काम नगर्न पनि अनुरोध गरिएको छ।
बाढीको जोखिमलाई सामान्य रूपमा नलिऔँ, आफ्नो र परिवारको जीवनलाई पहिलो प्राथमिकता दिऔँ। नदी आसपास बस्ने नागरिकले आधिकारिक सूचना सुन्नुका साथै स्थानीय प्रशासनको निर्देशन पालना गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ। सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सतर्क रहौँ, सुरक्षित स्थानमा बसौँ र आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।































