काँग्रेस महाधिवेशनमा मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय दुई घण्टा थप गरिएको छ।
निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्म निर्धारण गरेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको हो।

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनको मतदान प्रक्रियामा मतदाताहरूको उपस्थिति र चापलाई ध्यानमा राख्दै मतदानको समय थप गरिएको छ। निर्वाचन समितिले तोकिएको समयभित्र सबै प्रतिनिधिहरूले मताधिकार प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले प्रारम्भिक तालिकामा संशोधन गर्दै समय विस्तार गर्ने निर्णय गरेको हो

यसअघि केन्द्रीय निर्वाचन समितिले दिउँसो ३ बजेसम्मका लागि मतदानको समय सीमा निर्धारण गरेको थियो। तर, मतदानस्थलमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो उपस्थिति र पंक्तिबद्ध लाइन अझै कायम रहेकाले समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो।

निर्वाचन समितिका अनुसार अब थपिएको समय (साँझ ५ बजे) सम्म निर्बाध रूपमा मतदान प्रक्रिया सञ्चालन हुनेछ। तोकिएको अन्तिम समयसम्म मतदानस्थल प्रवेश गरेका सबै प्रतिनिधिहरूलाई मतदान गर्न दिइने र त्यसपछि मात्रै मतपेटिका सिल गरी मतगणनाको बाँकी प्रक्रिया अघि बढाइने जनाइएको छ।