विभागले दियो म्यानपावर कम्पनीलाई ७ बुँदे निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीमाथि कडाइ गर्न थालेको छ। विभागले एक सूचना जारी गर्दै विभिन्न सातबुँदे निर्देशन जारी गरेको हो। विभागले सेवा प्रवाह गर्ने सम्बन्धमा आफू मातहतका अनुमतिप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्था, स्वास्थ्य संस्था तथा पूर्वप्रस्थान अभिमुखीकरण संस्थाहरूलाई निर्देशन दिएको छ।

विभागको सूचना अनुसार म्यानपावरले १० लाख भन्दा बढीको सेयर लगत पेस गर्दा वैध आम्दानीको स्रोत खुलाउनु पर्ने साथै नयाँ दर्ता गर्दा जम्मा गर्नुपर्ने नगदका लागि आम्दानीको स्रोत खुलाइ पेस गर्नुपर्ने छ।

सबै आर्थिक कारोबारहरू अनिवार्यरुपमा बैंकिङ प्रणालीमार्फत हुने व्यवस्था मिलाउन र कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ। कार्यालयको स्पष्ट ठेगाना उल्लेख भएको जिपिएस लोकेसनसहितको ट्र्याकसमेत गर्न मिल्नेगरी उल्लेख गर्नुपर्ने÷लिंक राख्नुपर्ने समेत निर्देशनमा भनिएको छ।

म्यानपावर, सञ्चालकको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, संस्था दर्ता, सेयर दाखा, नामसारीलगायतमा आवश्यक पर्ने वैयक्तिक चारित्रिक विवरण, प्रहरी प्रतिवेदन नेपाल प्रहरीको सिआरएस प्रणालीमार्फत माग गर्ने, म्यानपावर कम्पनीहरूले कर्मचारी नियुक्त गर्दा कम्तीमा न्यूनतम पारिश्रमिक पाउने गरी नियुक्त गर्ने तथा कर्मचारीलाई मासिक तलबलगायतका आर्थिक भुक्तानी बैंकिङ प्रणालीमार्फत मात्र गर्ने, सामाजिक सुरक्षा कोषमा संस्था तथा कर्मचारीको अनिवार्य हुनुपर्ने विभागको निर्देशनमा उल्लेख छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्देशन दिइएको विभागले जनाएको छ।